काठमाडौँ । रसुवामा भीषण बाढी र पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाबाट छुट्ने लामो दूरीका सवारीसाधनलाई काठमाडौँमै रोकेको छ।
जोखिम टार्नका लागि काठमाडौँबाट रसुवा, नुवाकोट, चितवन र धादिङतर्फ जाने सवारीसाधनहरूलाई माइकिङ गर्दै ठाउँ-ठाउँमा रोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन्।
रसुवाका विभिन्न स्थानमा आएको बाढी–पहिरोले सडक अवरुद्ध हुनुका साथै यात्रा जोखिमपूर्ण बनेकाले सम्भावित दुर्घटना रोक्न पूर्व सावधानी स्वरूप सवारी आवागमनमा रोक लगाइएको प्रहरीको भनाइ छ। सडकको स्थिति सामान्य नभएसम्म रसुवा राजमार्ग हुँदै चल्ने गाडीहरूलाई नागढुङ्गा र बालाजु क्षेत्रमै नियन्त्रणमा राखिने जनाइएको छ।






