काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकोप्टरलाई छुट्टै अनुमति नचाहिने निर्णय गरिएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार राहत, उद्धार र खोजी कार्यमा निजी हेलिकोप्टरको परिचालन सहज बनाउन यस्तो निर्णय गरिएको हो।
उद्धारमा परिचालित हेलिकोप्टरलाई आवश्यक इन्धन उपलब्ध गराउन नुवाकोटको त्रिशूलीमा हवाई इन्धनको व्यवस्था गर्न नेपाल आयल निगमबाट ट्यांकरसमेत परिचालन गरिएको छ।
सचिवालयका अनुसार हवाई इन्धनसहितको ट्यांकर काठमाडौँबाट तत्काल त्रिशूलीतर्फ पठाइएको हो। यससँगै राहत, उद्धार तथा खोजीमा परिचालन हुने हेलिकोप्टरले त्रिशूलीबाटै आवश्यक हवाई इन्धन भर्न सक्ने व्यवस्था गरिएको छ।






