काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुन:स्थापनाका लागि तत्काल रु. १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ । आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।
आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईँले भनेका छन्, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरूसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्तर जारी रहन्छ ।” उनले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गरेका छन् ।
महासचिव चपागाईले बाढीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।






