काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका लागि गत बुधवारको बिहान सामान्य कार्य दिन जस्तै थियो । बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो कार्यकक्षमा व्यस्त थिए । तर ८ बज्न १४ मिनेट बाँकी रहँदा शुरु भएको एउटा प्राकृतिक विपत्तिले उनको जीवन र टिमुरेको भूगोललाई सधैँका लागि बदलिदियो ।
अधिकृत गैरेका अनुसार बिहान ८ः४६ बजेतिर अचानक उनको कार्यकक्षमा रहेको कम्प्युटर थर्कन थाल्यो । सुरुमा उनलाई भूकम्प आएको आभास भयो । ज्यान जोगाउन बाहिर निस्कने क्रममा उत्तरतर्फ (चीनतर्फ) नजर पर्दा उनी स्तब्ध भए ।
‘मैले उत्तरतिर हेर्दा सुनामी जस्तै मडारिएर आएको बाढी देखेँ । गत वर्षको बाढी खोलाको सतहभन्दा २० मिटर माथि थियो भने यसपालि बाढीको लेभल नदीको आधार सतहबाट करिब १०० मिटर माथि थियो ।’ उनले कहालीलाग्दो दृश्य सम्झिए ।
उनले बाढी देख्ने बित्तिकै सहकर्मीहरूलाई ‘बाढी आयो, भागौँ’ भन्दै सतर्क गराए । भाग्ने क्रममा १० सेकेन्डभित्रै पछाडि फर्केर हेर्दा पूरै क्षेत्र कुहिरो र धुलोले ढाकिएको थियो, केही देखिने अवस्था थिएन ।
टिमुरे बजारको नामनिसान मेटियो
बाढीको प्रकृति यति विध्वंसकारी थियो कि त्यसले टिमुरे बजारको अस्तित्व नै संकटमा पारिदिएको छ । गैरेका अनुसार गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा रहेका करिव २०० घरधुरीमध्ये ४० देखि ५० वटा पक्की घरहरू (४-५ तल्लासम्मका) पूर्ण रूपमा ध्वस्त भएका छन् ।
भौतिक क्षतिको विवरण दिँदै उनले भने, ‘मुख्य भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन, इलाका प्रहरी कार्यालय लगायतका सरकारी संरचनाहरू अहिले नामनिसान नहुने गरी बगेका छन् । पहाडको माथिल्लो भागमा रहेको सशस्त्र प्रहरीको बीओपी बाहेक तल्लो क्षेत्रका कुनै पनि संरचना बाँकी रहेनन् ।’त्यहाँ रहेको एउटा विद्यालय समेत बाढीले सोत्तर पारेको उनले बताए ।
विपद्को समयमा टिमुरे र रसुवागढी क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति थियो । अधिकृत गैरेका अनुसार उक्त समयमा भन्सार एजेन्ट, मजदुर, होटेल व्यवसायी, रसुवागढी-स्याफ्रुबेँसी सडक खण्डका कामदार र मानसरोवर तीर्थयात्री गरी करिव २ हजार भन्दा बढी मानिस त्यस क्षेत्रमा रहेको अनुमान छ । ‘४०० देखि ५०० को हाराहारीमा तीर्थयात्री र करिव १५० वटा मालवाहक कन्टेनर तथा इभी गाडीहरू त्यस क्षेत्रमा थिए ।’ उनले भने, ‘१०-१५ सेकेण्डको छोटो अवधिमा जसले २० मिटर जति उकालो उक्लन सके, उनीहरू मात्र बाँच्न सफल भए । बाँकी धेरै मानिस बेपत्ता छन् ।’
सूचनाको अभाव र चिनियाँ पक्षको अवस्था
विगतका वर्षहरूमा चिनियाँ पक्षले बाढीको पूर्व सूचना दिने गरेको भए पनि यस पटक कुनै जानकारी प्राप्त नभएको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गैरेले बताए ।
‘यसपालि सूचनाभन्दा पहिला बाढी आइपुग्यो । चिनियाँ क्षेत्रमा रहेका गेट र संरचनाहरू समेत ध्वस्त भएकाले उनीहरू आफैँ पनि चकित परेको र सूचना दिन नभ्याएको देखिन्छ ।’ उनले स्पष्ट पारे । चीनतर्फ पनि ठूलो क्षति भएको र त्यहाँका कर्मचारीहरू समेत प्रभावित भएको उनको बुझाइ छ ।
नयाँ जीवनको अनुभूति
मृत्युको मुखबाट जोगिएर डाँडातिर उक्लिएका गैरे र उनको टोली पछि सुरक्षित स्थानको खोजीमा ३ किलोमिटर माथि खैरी पुगेको थियो । बाढीले भित्तामा ठक्कर खाएर फर्किएका कारण आफूहरू बाँच्न सफल भएको उनी बताउँछन् ।
दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत त्रिशूली पुर्याएका उनीहरू त्यहाँको प्राथमिक स्वास्थ्य जाँचपछि सोही दिन राति साढे ९ बजे काठमाडौं आइपुगेका थिए । काठमाडौं आइपुग्दा भन्सार विभागमा अर्थमन्त्री, अर्थ सचिव र भन्सार महानिर्देशकले उनीहरूलाई स्वागत गर्दै ढाडस दिएका थिए । ‘हिजोसम्म सँगै काम गरेका साथीहरू र देखेको बजार क्षणभरमै बिलायो । जिन्दगीको केही भरोसा रहेनछ, हामीले नयाँ जीवन पाएर फर्किएका छौँ ।’ उनले भावुक हुँदै भने ।
हाल बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी रहे पनि भौगोलिक विकटता र सडक सञ्जाल विच्छेद भएका कारण कठिनाइ भइरहेको छ । रसुवागढी क्षेत्रको यो भौतिक र मानवीय क्षति नेपालको भन्सार इतिहासकै सबैभन्दा दुःखद् घटना मध्येको एक बनेको छ ।






