काठमाडौँ। चीनको दक्षिण-पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा बुधबार गएको ठूलो पहिरोपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
उद्धारमा खटिएको टोली शुक्रबार पहिरोबाट बढी प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ।
पहिरोका कारण क्षेत्रको भौगोलिक संरचनामा व्यापक असर परेको छ। कठिन भूगोलका कारण प्रभावित स्थानसम्म पुग्न चुनौती रहे पनि उद्धारकर्मीले विभिन्न साधन प्रयोग गरेर पहुँच विस्तार गरेका हुन्।
उद्धार तथा राहत कार्यमा अग्नि नियन्त्रक टोलीले डोरी, डुंगा र ड्रोनको समेत प्रयोग गरेको जनाइएको छ। क्षतिग्रस्त भूभाग र जटिल भूबनोट पार गर्दै टोलीले प्रभावित स्थलमा पुगेर खोजी तथा राहतसम्बन्धी काम अघि बढाएको हो।
भौगोलिक कठिनाइ र पहिरोबाट भएको ठूलो क्षतिका बीच पनि उद्धारकर्मीले सम्भावित प्रभावितको खोजी तथा आवश्यक राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।






