काठमाडौँ । भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीपछि त्रिशूली-३ ‘ए’ र ‘बी’ जलविद्युत् आयोजनाका सुरुङमा रहेका व्यक्तिको अवस्था अझै यकिन हुन सकेको छैन। लेदो र भग्नावशेषका कारण सुरुङको प्रवेश मार्ग प्रभावित भएपछि नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली सुरुङभित्र प्रवेश गरी उद्धार अघि बढाउने प्रयासमा छन्।
सुरुङ क्षेत्रमा रहेका आफन्तको अवस्था बुझिदिन आग्रह गर्दै परिवारका सदस्यहरूले प्रशासन डटकममा सम्पर्क गरेपछि प्रशासन ब्युरोले जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी एवं गुनासो सुन्ने अधिकारी कृष्णप्रसाद हुमागाईँसँग पछिल्लो अवस्थाबारे जानकारी लिएको हो।
हुमागाईँका अनुसार भदौ १० गते आएको बाढी पहिरोपछि लेदो र भग्नावशेष थुप्रिएर सुरुङको मुख प्रभावित भएको छ। स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने सुरुङ आसपास हेलिकप्टर अवतरण गर्न सक्ने अवस्थासमेत छैन।
‘सुरुङको मुख बेब्रिजहरू थुप्रिएको, हिलोले थुनिएको हुँदा त्यहाँ हेलिकप्टर ल्यान्डिङ गर्न सक्ने अवस्था छैन। बाटो पूर्ण रूपमा अवरुद्ध भएको हुँदा हेलिकप्टरदेखि बाहेक अरू उपाय पनि छैन,’ हुमागाईँले प्रशासनसँग भने।
सुरुङभित्र प्रवेश गर्ने बाटो खोजिँदै
प्रतिकूल अवस्थाका बीच नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली घटनास्थलमा परिचालित छन्। उपलब्ध साधन र प्रविधिको प्रयोग गरी सुरुङको प्रवेश स्थल पहिचान गर्ने तथा त्यहाँ थुप्रिएको लेदो र भग्नावशेष हटाउँदै भित्र प्रवेश गर्ने प्रयास भइरहेको हुमागाईँले बताए।
‘नेपाली सेना, सशस्त्र प्रहरी बलका टिमहरू त्यहाँ खटिएर उपलब्ध टेक्नोलोजीअनुसार सुरुङभित्र प्रवेश गर्नका लागि सुरुङको मुख सर्च गर्ने, खोतल्ने काम भइरहेको छ,’ उनले भने। उनका अनुसार त्रिशूली-३ ‘ए’ र ‘बी’ दुवैतर्फका सुरुङमा प्रवेश गरेर उद्धार अघि बढाउने प्रयास भइरहेको छ।
परिचालित सुरक्षाकर्मीको संख्याबारे हुमागाईँले दुवैतर्फ ६० भन्दा बढीका दरले टोली खटिएको प्रारम्भिक जानकारी दिएका छन्। जनशक्ति थपघट भइरहेकाले कुल संख्या भने यकिन नभएको उनको भनाइ छ।
भित्र कति छन्, अवस्था कस्तो छ भन्ने अझै यकिन छैन
सुरुङभित्र रहेका व्यक्तिको संख्या र उनीहरूको पछिल्लो अवस्थाबारे प्रशासनसँग यकिन विवरण छैन। यही कारण सुरुङभित्र रहेका भनिएका व्यक्तिका विषयमा अहिले नै कुनै निष्कर्ष निकाल्न नमिल्ने देखिएको छ।
हुमागाईँले उद्धार टोलीले पहुँच स्थापित गरी घटनास्थलबाट विवरण पठाएपछि मात्र थप अवस्था स्पष्ट हुने बताए। ‘त्यहाँबाट के-कस्तो अवस्था छ, त्यहाँबाट रिपोर्टिङ आएपछि मैले अरू थप जानकारी दिन सक्छु,’ उनले भने।
यसअघि विभिन्न निकाय र सञ्चारमाध्यमबाट बाढी प्रभावित आयोजना तथा सुरुङ क्षेत्रबाट उद्धार गरिएका व्यक्तिका फरक-फरक समयका विवरण सार्वजनिक भएका छन्। ती विवरण फरक स्थान र समयका भएकाले त्रिशूली-३ ‘ए’ र ‘बी’का सुरुङमा अहिले कति व्यक्ति बाँकी छन् भन्ने सङ्ख्यासँग तिनलाई सोझै जोडेर निष्कर्ष निकाल्न नमिल्ने प्रशासनको पछिल्लो जानकारीबाट देखिन्छ।
यसअघि सुरुङबाट दुई जनाको उद्धार
यसअघि सार्वजनिक सरकारी विवरणअनुसार माथिल्लो त्रिशूली जलविद्युत् आयोजना क्षेत्रको सुरुङबाट दुई जनाको सकुशल उद्धार गरिएको थियो। उद्धारमा प्राविधिक उपकरणसहित विशेष तालिमप्राप्त टोली परिचालन गरिएको जानकारी सार्वजनिक भएको थियो।
त्यस्तै, यसअघि अर्को सुरुङमा रहेका ठूलो संख्याका व्यक्तिको उद्धार गरिएको विवरण पनि सार्वजनिक भएको थियो। तर ती विवरणलाई त्रिशूली-३ ‘ए’ र ‘बी’का अहिले पहुँचको प्रयास भइरहेका सुरुङसँग एउटै मानेर त्यहाँ बाँकी व्यक्तिको संख्या निर्धारण गर्न सकिने अवस्था छैन।
अपर त्रिशूली-३ ‘बी’ आयोजना क्षेत्रमा बाढी पहिरोबाट लेदो र भग्नावशेष थुप्रिएको तथा पहुँचमार्ग प्रभावित भएको विवरणसमेत सार्वजनिक भएका छन्। यही अवस्थाका कारण सुरुङसम्म पुगेर भित्रको यथार्थ अवस्था पत्ता लगाउनु उद्धार टोलीका लागि चुनौती बनेको छ।
आफन्त वास्तविक खबरको प्रतीक्षामा
सुरुङ तथा आयोजना क्षेत्रमा रहेका व्यक्तिसँग सम्पर्क हुन नसकेपछि परिवारका सदस्यहरू वास्तविक अवस्थाको जानकारीको प्रतीक्षामा छन्। केही आफन्तले प्रशासन डटकममा समेत सम्पर्क गरी आफ्ना परिवारका सदस्यबारे यथार्थ जानकारी बुझिदिन आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याउने क्रम जारी रहँदा आफन्तहरूले उद्धार भएर आउनेहरूमा आफ्ना परिवारका सदस्य छन् कि भनेर प्रतीक्षा गरिरहेका विवरण पनि सार्वजनिक भएका छन्।
तर सुरुङभित्र कति व्यक्ति छन्, उनीहरूको अवस्था के छ र उद्धार टोली कहिलेसम्म भित्र पुग्न सक्छ भन्ने विषयमा आधिकारिक रूपमा स्पष्ट विवरण आइसकेको छैन।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार अहिलेको प्राथमिकता त्रिशूली-३ ‘ए’ र ‘बी’ दुवैतर्फ सुरुङभित्र प्रवेश गर्ने पहुँच बनाउनु हो। उद्धार टोली सुरुङभित्र पुगेर घटनास्थलको वास्तविक विवरण पठाएपछि मात्रै त्यहाँ रहेका व्यक्तिको अवस्थाबारे थप स्पष्ट हुन सक्ने प्रशासनले जनाएको छ।






