काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् ।
रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । इन्जिनियर भट्टले नेपालमा सुरुङ निर्माणको युग शुरु भए पनि सुरुङभित्र हुने दुर्घटनाको उद्धारका लागि आवश्यक प्राविधिक विज्ञता र क्षमता अझै विकास भई नसकेको बताए। उनकाअनुसार नेपालको आफ्नै स्रोत र साधनले उद्धार सम्भव नभएकाले ढिला नगरी छिमेकी मुलुकहरूसँग सहयोग माग्नुपर्ने अवस्था आएको छ ।
विपद्को सुरुवाती चरणमा सरकारले देखाएको तदारुकता र सुरक्षाकर्मीको परिचालन प्रशंसनीय भए पनि विशिष्ट प्रकृतिको उद्धारमा स्वदेशी क्षमताले नभ्याउने उनको भनाइ छ । विपद्को प्रकृति र आकारअनुसार स्थानीय, प्रदेश, सङ्घ र आवश्यकता परे अन्तर्राष्ट्रिय सहयोग लिने प्रचलन रहेको स्मरण गराउँदै भट्टले अहिलेको घटनामा वैदेशिक विशेषज्ञ टोलीको आवश्यकता खड्किएको उल्लेख गरे । उनले अनावश्यक भीडभन्दा पनि सुरुङ उद्धारमा दख्खल राख्ने निश्चित प्राविधिक टोलीलाई मात्रै परिचालन गर्न सुझाव दिए ।
उनले भने, ‘टनेलभित्रको उद्धारमा हाम्रो विशेषज्ञता पुग्छ कि पुग्दैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । मानिसको जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले हामीले सक्ने काम आफैँ गर्नुपर्छ, तर हाम्रो क्षमताले नभ्याउने अवस्थामा अन्तर्राष्ट्रिय सहयोग लिन ढिला गर्नु हुँदैन । नेपालमा टनेल निर्माणको सुरुवात भए पनि टनेलभित्र हुने दुर्घटनाको उद्धारसम्बन्धी पर्याप्त विशेषज्ञता अझै विकास भइसकेको छैन । चीन र भारतजस्ता छिमेकी देशसँग टनेल तथा खानी दुर्घटनामा उद्धारको अनुभव र विशेषज्ञता भएकाले आवश्यक परे उनीहरूको सहयोग लिनुपर्छ । चार दिनसम्म मानिसहरू टनेलभित्र फसेको अवस्थामा उद्धारमा थप ढिलाइ गर्नु जोखिमपूर्ण हुन्छ । त्यसैले हामीले गर्न सक्ने काम आफैँ गर्ने र नसक्ने कामका लागि विशेषज्ञ अन्तर्राष्ट्रिय टोलीलाई तत्काल परिचालन गर्नुपर्छ । विपद्को आकार र हाम्रो क्षमताअनुसार स्थानीय, प्रदेश र संघीय सरकारसँगै आवश्यक पर्दा अन्तर्राष्ट्रिय सहयोग लिनु नै उचित हुन्छ । विपद्को समयमा ‘होल अफ द सोसाइटी’ र ‘होल अफ द गभर्मेन्ट’ दृष्टिकोणबाट सबै पक्षलाई जोडेर उद्धार गर्नुपर्छ । जीवन बचाउने विषयमा सहयोग लिन हिचकिचाउनु हुँदैन ।’
पूर्वकार्यकारी प्रमुख भट्टले उद्धार कार्यमा कूटनीतिक र प्राविधिक दुवै तवरबाट छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।






