काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित थप १८३ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार आइतबार बिहान ११ बजेसम्म टिमुरे, धुन्चे र हाकुबेंसी क्षेत्रबाट चार चिनियाँ नागरिकसहित १८३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको हो।
यसैगरी, त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयासलाई थप तीव्र बनाइएको छ। भदौ १२ गतेदेखि घटनास्थलमा खटिएको संयुक्त टोलीमा विशेषज्ञसमेत थपिएपछि उद्धारमा परिचालित जनशक्तिको संख्या ९३ पुगेको सेनाले जनाएको छ।
उद्धार टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरेर सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयास गरिरहेको छ। बाढीको बहाव कम भएसँगै सुरुङको प्रवेशद्वार खोज्ने कार्य पुनः सुचारु गरिएको हो।
सेनाका अनुसार बाढी प्रभावित जिल्लाहरूमा उद्धार, राहत तथा अन्य प्रतिकार्यका लागि आठ हजार चार सयभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ। उनीहरूले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा काम गरिरहेका छन्।






