काठमाडौँ । बाढीबाट प्रभावित तथा आसपासका क्षेत्रमा नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क सञ्चार सुविधा तत्कालका लागि निरन्तर रहने भएको छ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रमा भ्वाइस कल, मोबाइल डेटा र एसएमएस सेवा नि:शुल्क रूपमा प्रयोग गर्न सकिने व्यवस्था अर्को निर्णय नभएसम्म कायम रहनेछ। यसअघि भदौ १४ गतेसम्म लागू गरिएको सुविधालाई थप अवधि निरन्तरता दिइएको हो।
यस व्यवस्थाअन्तर्गत सेवाग्राहीले नि:शुल्क भ्वाइस सेवा, दैनिक २ जीबी मोबाइल डेटा र ५० वटा एसएमएस प्रयोग गर्न पाउनेछन्। विपद्का कारण सञ्चार सम्पर्क प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध सुविधाको आवश्यकता अनुसार उपयोग गर्न प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
बाढीबाट टेलिकमका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेपछि सेवा अवरुद्ध हुन नदिन तथा क्षतिग्रस्त संरचनाको पुन:स्थापना र मर्मतका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको कम्पनीले जनाएको छ।
टेलिकमका अनुसार अधिकांश प्रभावित स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा आइसकेको छ। सेवा नियमित हुन बाँकी क्षेत्रहरूमा पनि प्राविधिक टोलीले आवश्यक काम जारी राखेको छ।
विपद्को समयमा नि:शुल्क सञ्चार सुविधाले प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्क कायम गर्न सहज हुने अपेक्षा कम्पनीले गरेको छ।






