काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाले आवश्यक भारी उपकरण आयोजनास्थलतर्फ पुर्याउने काम अघि बढाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याइसकिएको छ। त्यहाँ उपकरणलाई छुट्टाछुट्टै भागमा विभाजन गरी हेलिकप्टरमार्फत आयोजनास्थल लैजाने व्यवस्था गरिएको छ।
बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली निरन्तर परिचालित रहेको सचिवालयले जनाएको छ। गएराति पुनः ठूलो बाढी आए पनि उद्धारसम्बन्धी प्रयास रोकिएको छैन।
नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वार खोल्ने अर्थात् ‘ब्रेक थ्रु’ गर्ने काम करिब एक घण्टाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका व्यक्तिको वास्तविक अवस्था पत्ता लगाउने तथा खोज र उद्धार अभियान अघि बढाइनेछ।
उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक उपकरण र जनशक्ति घटनास्थलसम्म पुर्याउने कामसँगै सुरुङ प्रवेशका लागि प्राविधिक तयारी पनि समानान्तर रूपमा भइरहेको सचिवालयले जनाएको छ।






