काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलमार्फत मुख्य सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा परिचालित छन्। टोलीले सुरुङ प्रवेशमा अवरोध बनेको संरचना हटाउँदै सुरक्षित मार्ग तयार गर्ने काम गरिरहेको छ।
स्थलगत रूपमा खटिएको टोलीले सुरुङको ‘क्राउन’ अर्थात् माथिल्लो भाग पहिचान गरेको छ। उक्त भागलाई एक्साभेटरको सहायताले फुटाएर प्रवेशद्वार खुलाउने काम अघि बढाइएको जनाइएको छ।
अवरोध हटाएर सुरुङभित्र प्रवेश गर्न मिल्ने सुरक्षित अवस्था बनेपछि तालिमप्राप्त उद्धारकर्मीलाई भित्र पठाउने तयारी छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक मल्यांकन र सुरक्षा निकायबीचको समन्वयमा उद्धार प्रक्रिया अगाडि बढाइएको छ।
त्रिशूली-३ ‘ए’ आयोजनाको केबल आउटलेट टनेलबाट मुख्य सुरुङमा प्रवेश गर्न प्राविधिक तथा सुरक्षा टोलीले अवरोध हटाइरहेको छ। सुरक्षित मार्ग बनेपछि तालिमप्राप्त उद्धारकर्मीलाई भित्र पठाइनेछ।






