काठमाडौँ । रसुवा र नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा तत्काल ठूलो मौसमी जोखिम नदेखिए पनि खतरा पूर्ण रूपमा नटरेको जल तथा मौसमसम्बन्धी अधिकारीहरूले बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भएको छलफलमा अधिकारीहरूले मौसममा आउन सक्ने आकस्मिक परिवर्तनलाई ध्यानमा राखेर उद्धार तथा राहत कार्यमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग र जलविज्ञान तथा स्रोत अनुसन्धान केन्द्रका अधिकारीसँग पछिल्लो मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए।
छलफलमा विशेष गरी रसुवा र नुवाकोटको वर्तमान मौसम, थप वर्षाको सम्भावना, नदी तथा खोलाको जलस्तर र सम्भावित बाढीको पूर्वानुमानबारे जानकारी लिइएको थियो। जारी खोज, उद्धार र राहत कार्यलाई मौसम अनुकूल थप सुरक्षित तथा प्रभावकारी बनाउने उपायबारे पनि परामर्श भएको छ।
सम्बन्धित अधिकारीहरूले मौसम, वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांक निरन्तर संकलन तथा विश्लेषण गरिरहेको जानकारी दिएका छन्। उनीहरूले पूर्वसूचनाका आधारमा मात्र जोखिमयुक्त क्षेत्रमा उद्धार तथा अन्य मानवीय गतिविधि सञ्चालन गर्न सुझाव दिएका छन्।
सम्भावित जोखिम न्यूनीकरण गर्न तल्लो तटीय तथा संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना प्रवाह गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। मौसममा आउन सक्ने आकस्मिक परिवर्तनको निगरानीका लागि सम्बन्धित निकाय उच्च सतर्कतामा रहेको जनाइएको छ।
मन्त्री श्रेष्ठले मौसम तथा जल विज्ञानसम्बन्धी पूर्वसूचनालाई उद्धार र विपद् जोखिम व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्न निर्देशन दिएका छन्। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै निकायबीच निरन्तर सूचना आदानप्रदान र समन्वय आवश्यक रहेकोमा उनले जोड दिएका छन्।






