काठमाडौँ । दक्षिण कोरियाको अदालतले युनिफिकेसन चर्चकी प्रमुख हाक जा हानलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको कारावास सजाय सुनाएको छ ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ८३ वर्षीया हानलाई गैरकानुनी राजनीतिक आर्थिक सहयोग तथा पूर्वप्रथम महिलालाई घुस दिएको अभियोगमा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । हान दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नीसमेत हुन् ।
अभियोजन पक्षका अनुसार अनुसन्धानका क्रममा चर्चले राजनीतिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न आर्थिक माध्यम प्रयोग गरेको विषय पहिलोपटक प्रमाणित भएको दाबी गरिएको छ । अनुसन्धानकै क्रममा हानको निजी सेफबाट करिब १ करोड ९० लाख अमेरिकी डलर बराबरको नगद भेटिएको तस्वीरसमेत सार्वजनिक गरिएको थियो ।
युनिफिकेसन चर्चको गतिविधि नेपालसँग पनि जोडिएको विषय यसअघि सार्वजनिक भइसकेको छ । नेपालमा राजनीतिक गतिविधिका लागि पूर्वमन्त्री एकनाथ ढकालले उक्त चर्चसँग नेपाल परिवार दल सञ्चालन तथा निर्वाचन प्रयोजनका लागि १० लाख २० हजार अमेरिकी डलर माग गरेको विषयमा समाचार प्रकाशित भएको थियो ।






