धनगढी । नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता रु. दुई करोड ५१ लाख पुगेको छ ।
खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट रु. दुई करोड १६ लाख १० हजार नौ सय ४७ र सरकारीबाट रु. ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिए ।
संस्थानले धनगढी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ । कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्यूनतम रु. एक सय १० शुल्क असुल गर्दै आएको छ । त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु. छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलव ९१ राजस्व संकलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा रु. पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व संकलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वृद्धि भएको पाइन्छ ।






