काठमाडौँ । लोक सेवा आयोगका पदाधिकारीहरूले बाढी प्रभावितको सहयोगार्थ पाँच दिनको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन्।
आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पदाधिकारीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको छ। आयोगमा कार्यरत कर्मचारीले पनि सचिव बैठकको निर्णयबमोजिमको रकम सोही कोषमा जम्मा गर्ने भएका छन्।
भदौ १० गते रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत क्षेत्रको जनधनमा भएको क्षतिप्रति आयोगले दुःख व्यक्त गरेको छ।
आयोगले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आयोगले राहत तथा पुनः स्थापना कार्यक्रममा ऐक्यबद्धता जनाएको छ।







