काठमाडौँ। बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण मुख्य ढल प्रणालीको पाइपलाइन थुनिएपछि धोबीघाट ढल प्रशोधन केन्द्र प्रभावित भएको छ।
आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भदौ १५ गते राति बागमती र विष्णुमती नदीमा आएको बाढीसँगै पानी र बालुवा मुख्य ढल प्रणालीका पाइपमा प्रवेश गरेको हो। ठूलो परिमाणमा बालुवा पसेर पाइपलाइन अवरुद्ध भएपछि परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्र सञ्चालन हुन नसकेको उनले बताए।
यसअघिको बाढीबाट समेत मुख्य पाइपलाइनमा बालुवा पसेको थियो। त्यसपछि आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन सफाइको काम गरिरहेको अवस्थामा पछिल्लो बाढीले थप बालुवा थुपारेपछि समस्या बढेको श्रेष्ठले जानकारी दिए।
मुख्य ढल प्रणालीको पाइपलाइन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट बिछ्याइएको हो। पाइपलाइन पुन: सञ्चालनयोग्य बनाउन समितिसँग समन्वय गरी सफाइको काम अघि बढाइएको निर्देशनालयले जनाएको छ।
निर्देशनालयले आफ्नोतर्फबाट पनि थप सफाइको काम अघि बढाउने तयारी गरेको छ। मुख्य पाइपलाइनमा जम्मा भएको बालुवा हटाएर प्रवाह सहज नबनाएसम्म ढल प्रशोधन केन्द्र सञ्चालनमा कठिनाइ हुने श्रेष्ठले प्रशासनलाई बताए।






