काठमाडौँ । वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
सिप्रेडका कार्यारी निर्देशक जय मुकुन्द खनालले भदौ १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकारको आह्वानबमोजिम केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नबिल बैंकमा रहेको खाता नं. १७१००१७५०५२८५ मा १० लाख रुपैयाँ जम्मा गरेको हो।
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा भएको धनजनको क्षतिप्रति केन्द्रले गहिरो दुःख व्यक्त गरेको छ।
बाढीका कारण असामयिक निधन भएका सम्पूर्ण ज्ञात-अज्ञात स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। उपचाररत घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
त्यस्तै, बाढीका कारण बेपत्ता भएका नागरिक सकुशल फेला परी शीघ्र आफ्नो परिवार तथा घर फर्कन सकून् भन्ने कामना गर्दै प्रभावित परिवारजनप्रति सिप्रेडले सहानुभूति व्यक्त गरेको छ।
सिप्रेडले विपद्को यस घडीमा सम्पूर्ण सरोकारवाला निकाय, संघ-संस्था तथा नागरिकलाई प्रभावितहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न अपिलसमेत गरेको छ।






