काठमाडौँ । विराटनगरको सीमावर्ती क्षेत्रबाट अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरिएको छ ।
विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो ।
राति ११ बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए ।
सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए । चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुई वटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।






