काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुन:स्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सरकारसँग विभिन्न मुद्दामा असहमति भए पनि विपद्मा साथ दिन श्रमदाता खटाउने प्रस्ताव गरेका हुन् । उद्धारमा समन्वय नभएकाले पीडित पक्षबाट गुनासो आएको उल्लेख गर्दै उनले आवश्यक उपकरणसहित दक्ष जनशक्ति प्रयोग नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
“सरकारको आलोचना भोलि गरौँला, पीडितले अझै पर्याप्त राहत पाउन नसकेको गुनासो छ, राहतको ढोका बन्द नगरी खोल्ने समय हो, राहत वितरण पारदर्शी र व्यवस्थित गरौँ, पीडित परिवारलाई प्रियजनको अन्तिम बिदाइ गर्ने अवसर दिइनुपर्छ”, सांसद राईले भने।
जलवायु कोषलगायत अन्तर्राष्ट्रिय कोषबाट सहयोगको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले अर्को हिमबाढी आउनुअघि नेपालले कत्तिको तयारी गर्ने हो त्यो हेर्न बाँकी रहेको बताए ।






