काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनमा मानवीय तथा भौतिक क्षति पुर्याएको सन्दर्भमा प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै सभामुख अर्यालले विपद् प्रभावित नागरिकको मानसिक तथा मनोसामाजिक अवस्थाप्रति समेत संवेदनशील हुनुपर्ने बताए।
उनले विपद्का बेला महिला तथा बालबालिकाको विशेष सुरक्षा र संरक्षण आवश्यक हुने भन्दै उनीहरूलाई आवश्यक सेवा प्राप्त गर्न सहज वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।
सभामुख अर्यालले पछिल्ला दशकमा जलवायु परिवर्तनका असरबारे निरन्तर चर्चा हुँदै आए पनि हिमाली क्षेत्रमा यसको प्रभाव थप गम्भीर रूपमा देखिन थालेको बताए। तापक्रम वृद्धिसँगै हिमनदी तथा हिमतालमा भइरहेको परिवर्तन, हिम पहिरोको बढ्दो जोखिम र असामान्य वर्षाका घटनालाई उनले जलवायुजन्य जोखिमका रूपमा उल्लेख गरे।
रसुवा क्षेत्रमा विगतमा समेत विभिन्न प्रकृतिका साना–ठूला विपद् दोहोरिँदै आएको स्मरण गर्दै अर्यालले जलवायु परिवर्तनबाट सिर्जित क्षति तथा राष्ट्रिय सुरक्षासँग जोडिएका चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
उनका अनुसार जलवायु परिवर्तनका कारण नेपालले व्यहोरेको क्षति र नोक्सानीसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय बहसमा स्पष्ट र बलियो ढंगले उठाउन आवश्यक छ। यसतर्फ समेत सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ।
रसुवा बाढीबाट प्राप्त अनुभवले विपद्पछिको उद्धार तथा राहतमा मात्र सीमित नरही पूर्वतयारीलाई संस्थागत गर्नुपर्ने आवश्यकता देखाएको सभामुख अर्यालले बताए। उनले हिमताल र हिमनदीको नियमित अध्ययन तथा अनुगमनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
नेपाल प्राकृतिक तथा मानवसिर्जित दुवै किसिमका विपद्का हिसाबले संवेदनशील रहेको उल्लेख गर्दै उनले भौगोलिक विविधता, कमजोर भू-संरचना, जोखिमयुक्त तथा अव्यवस्थित विकास, कमजोर पूर्वाधार, सीमित स्रोतसाधन र जलवायु परिवर्तनलाई विपद्को जोखिम बढाउने प्रमुख पक्षका रूपमा औँल्याए।
विपद्को वर्तमान अवस्थामा खोज तथा उद्धार, राहत र पुन:स्थापनाका लागि तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्रबीच समन्वय आवश्यक रहेको सभामुख अर्यालले बताए। विस्थापित नागरिकको पुन:स्थापना तथा घाइतेको उचित उपचार सुनिश्चित गर्नसमेत उनले सरकारलाई निर्देशन दिए।
यसपटकको विपद्मा उद्धार तथा राहतमा सुरक्षाकर्मी परिचालन भएको उल्लेख गर्दै सभामुख अर्यालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न सरकारी निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी, नेपाल रेडक्रस, स्वयंसेवक, सञ्चारकर्मी, स्थानीय समुदाय तथा अन्य उद्धारकर्मीले पुर्याएको योगदानप्रति प्रतिनिधिसभाका तर्फबाट धन्यवाद व्यक्त गरे।
त्यसैगरी विपद् व्यवस्थापनमा प्राविधिक जनशक्ति, राहत सामग्री, सहयोग र सद्भाव उपलब्ध गराउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि उनले आभार व्यक्त गरे।






