काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ माबुमा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ भदौ ११ गते राति करिब ११:४५ बजे स्थानीय भदौरे मेलामा सहभागी हुन पुगेका खोटाङको केपिलासगढी गाउँपालिका-७ का ३९ वर्षीय भानुभक्त राईमाथि कुटपिट भएको थियो। स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत राईलाई पुरानो विवादको विषयलाई लिएर कुटपिट गरिएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।
घटनाबारे मौखिक जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले तत्काल खोजी अघि बढाई भदौ १२ गते ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूमा खोटाङको केपिलासगढी गाउँपालिका-७ का २१ वर्षीय प्रवेस भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माईकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन्।
पक्राउ परेकाहरूलाई भदौ १४ गते भोजपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रहरीले घटनाको कारण, संलग्नताको अवस्था तथा अन्य आवश्यक तथ्यबारे अनुसन्धान जारी रहेको जनाएको छ।






