काठमाडौँ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा हालै भएको विनाशकारी हिम पहिरो तथा बाढी-पहिरोको मुख्य पृष्ठभूमिमा दीर्घकालीन रूपमा बढिरहेको तापक्रमका कारण हिमनदीमा आएको अस्थिरता रहेको चीनले जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार चीन र नेपालका विज्ञहरूको मुल्यांकनलाई उद्धृत गर्दै पछिल्लो विपद्को कारणबारे यस्तो धारणा सार्वजनिक गरेका हुन्।
हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रमबाट उत्पन्न जोखिम तथा नेपाललगायत छिमेकी मुलुकसँग मिलेर ‘हिमालय परिषद्’ गठन गर्ने चीनको प्रस्तावबारे सोधिएको प्रश्नमा गुओले नेपालस्थित एक हिमनदीमा बरफ र चट्टानसहितको हिम पहिरो खसेको जानकारी दिए।
उनका अनुसार उक्त हिम पहिरो तीव्र वेगमा पहाडको भिरालो भूभाग हुँदै तल झरेपछि जमिनको सतहमा ठूलो क्षति र कटान भएको थियो। त्यसैक्रममा पछिल्लो विपद्को अवस्था सिर्जना भएको चीनको भनाइ छ।
नेपाल र चीनबीच मौसम विज्ञान, जलस्रोत तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको पनि प्रवक्ता गुओले उल्लेख गरे। पछिल्लो घटनापछि चीनले नेपाललाई प्रभावित क्षेत्रका तस्बिर, भूउपग्रहबाट प्राप्त विवरण, जलविज्ञानसम्बन्धी तथ्यांक तथा माथिल्लो क्षेत्रमा बनेको तालसम्बन्धी पूर्वसूचनाका महत्वपूर्ण जानकारी उपलब्ध गराएको उनले बताए।
नेपालमा जारी उद्धार तथा राहत कार्यमा चीनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने गुओले बताएका छन्। साथै, विपद् रोकथाम तथा जोखिम न्यूनीकरणका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने चीनको प्रतिबद्धता उनले व्यक्त गरे।
जलवायु परिवर्तनलाई विश्वव्यापी साझा चुनौतीका रूपमा व्याख्या गर्दै उनले यसको असरबाट कुनै पनि मुलुक पूर्ण रूपमा सुरक्षित नरहेको बताए। जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने चीनको नीति रहेको उनको भनाइ छ।
नेपालसहित हिमालय क्षेत्रका छिमेकी मुलुकसँग ‘हिमालय परिषद्’ गठन गर्ने विषयमा भने गुओले थप धारणा सार्वजनिक गरेनन्। उक्त प्रस्तावसम्बन्धी विषयमा सम्बन्धित सक्षम निकायसँग जानकारी लिनुपर्ने उनको जवाफ थियो।






