काठमाडौँ । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव बाहिर निकालिएको छ। यसअघि सोही सुरुङबाट दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको थियो।
आयोजनाका एक कर्मचारीका अनुसार सुरक्षाकर्मीले सुरुङभित्रबाट शव निकालेका हुन्। मृतकको पहिचान भने खुल्न बाँकी रहेको उनले बताए।
सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणको उद्धार टोली परिचालित छ। सोही अभियानका क्रममा प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबिर महर्जनको जीवितै उद्धार गरिएको थियो।
उद्धार गरिएका दुवै कर्मचारीको उपचार काठमाडौँस्थित नेपाली सेनाको अस्पतालमा भइरहेको छ।






