काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले करिब २७ टन राहत सामग्री नेपाल ल्याएको छ।
सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ वटा त्रिपाल, एक हजार कम्बल, एक हजार न्यानो कपासका कोट, एक हजार आपतकालीन मानवीय राहत बाकस र छ हजार मेडिकल प्याकिङ ब्याग छन्।
सीएफआरडीका अनुसार करिब २७ टन तौल रहेको उक्त राहत सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी छ। सामग्री नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी रसुवाका प्रभावित क्षेत्रमा पठाइने संस्थाले जनाएको छ।
भोटेकोशीमा आएको लेदो र ढुंगासहितको तीव्र बाढीले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि संस्थाको नेपाल कार्यालयले आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरेको थियो। त्यसलगत्तै प्रभावित क्षेत्रमा आवश्यकताको मूल्यांकन तथा राहत वितरणको काम सुरु गरिएको संस्थाले जनाएको छ।
सीएफआरडीले नुवाकोटका प्रभावित क्षेत्रमा समेत राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। संस्थाले १४ वटा पाल, पाँच सय खाद्यान्न प्याकेज, पाँच सय परिवारका लागि जीवनयापन सामग्री र पाँच हजार सौर्य बत्ती उपलब्ध गराउने जनाएको छ।
खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायत दैनिक उपभोग्य सामग्री समावेश छन्। प्रभावित समुदायको बदलिँदो अवस्था र आवश्यकताका आधारमा आगामी दिनमा पनि सहयोग जारी राखिने सीएफआरडीले जनाएको छ।
राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुईलगायत चिनियाँ उद्यम तथा सहयोगीहरूले योगदान गरेका छन्।
नेपालमा सीएफआरडीको मानवीय सहायता तथा विकाससम्बन्धी संलग्नता २०७२ सालको भूकम्पपछि सुरु भएको हो। आपतकालीन उद्धार र पुनर्निर्माणबाट सुरु भएको संस्थाको काम समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास तथा विपद् व्यवस्थापनसम्म विस्तार भएको छ।
संस्थाले कोभिड-१९ महामारीका साथै जाजरकोट, सिन्धुपाल्चोक र गोरखामा भएका विपद्का बेला पनि सहयोग उपलब्ध गराएको जनाएको छ।






