काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त झोलुंगे पुलको मर्मत तथा पुनर्निर्माण प्रक्रिया सरकारले अघि बढाएको छ।
भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो। प्रभावित क्षेत्रको स्थलगत मूल्यांकनपछि तीमध्ये २० वटा पुल मर्मत र ३३ वटा पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको हो।
सरकारले मर्मत गर्नुपर्ने २० वटा झोलुंगे पुलका लागि भदौ १७ गते कार्यादेश जारी गरेको थियो। कार्यादेशपछि पाँचवटा पुलको मर्मतमा प्रगति भएको छ।
महेश दोभान-मास्टार, कालिकाथान, मलिंगा-मझुवाटार, केउरेनी-गहते र पिमलटार-जागराम खोला झोलुंगे पुलको मर्मत कार्य अघि बढाइएको हो। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मर्मतबाट सञ्चालनमा ल्याउन नसकिने ३३ वटा झोलुंगे पुल भने पुनर्निर्माण गर्नुपर्ने भएको छ। सरकारले ती पुलको पुनर्निर्माणका लागि पनि भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।
बाढीले ठूलो संख्यामा झोलुंगे पुलमा क्षति पुर्याएपछि मुग्लिङदेखि टिमुरेसम्मका विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ। मर्मत र पुनर्निर्माणपछि प्रभावित क्षेत्रको स्थानीय आवागमन सहज हुने अपेक्षा गरिएको छ।






