काठमाडौँ । काठमाडौँको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ । जुम्लाको अर्ग्यानिक स्याउको प्रचार-प्रसार तथा बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।
प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गरे । सो क्रममा उनले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्राण्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।
मन्त्री चौधरीले अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन दिनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली स्याउलाई स्वदेशी बजारमा स्थापित गर्न सरकारी तवरबाट आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने विश्वास दिलाइन् ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा किसानको आर्थिक जीवनस्तरमा सुधार आउने बताउँदै उनले जुम्ली स्याउ जस्ता मौलिक उत्पादनको संवर्द्धनका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन् ।
साताव्यापी रूपमा चल्ने यस प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याइएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन् ।
प्रदर्शनीमार्फत जुम्ली स्याउको बजार विस्तारमा सहयोग पुग्ने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय अर्ग्यानिक फलफूल प्राप्त गर्ने अपेक्षा गरिएको छ ।






