काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित आयोजनामा भइरहेको खोज तथा उद्धारको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जोखिमपूर्ण अवस्थामा निरन्तर खटिरहेको बताएका हुन्।
“हामी नेपाली मानवतावादी छौँ। त्यसैले स्रोत, साधन र समयको सीमितताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्नेछौँ,” प्रधानमन्त्री शाहले भनेका छन्, “हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाहा छ।”
उनका अनुसार भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको पाँच हजार ६०० मिटर उचाइबाट गएको हिम पहिरोका कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको थियो। बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो मानवीय र भौतिक क्षति पुगेको उनले उल्लेख गरेका छन्।
रसुवागढीमा २७५ मिटरसम्म पुग्यो सेना
प्रधानमन्त्री शाहका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्सका सम्पूर्ण संरचना तथा पावरहाउस बाहिर र भूमिगत पावर हाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ।
बाढी आएको दिनदेखि खोजी प्रयास गरिए पनि हेलिकोप्टर अवतरण हुन नसक्दा आवश्यक सामग्री पुर्याउन कठिन भएको उनले बताएका छन्। आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि मानिस फेला नपरेको विवरण उनले दिएका छन्।
हाल हेलिकोप्टरबाट मिनी एक्साभेटर पुर्याएर खोजी जारी राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।
लाङटाङ र चिलिमेमा चार शव फेला
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोजीका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय टोली दलदल हटाउँदै सुरुङको प्रवेशविन्दुबाट करिब ६० मिटरभित्र पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
ठूला चट्टानका कारण खोजीमा कठिनाइ भएपछि भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारी परिचालन गरिएको थियो। ग्यास वेल्डिङबाट सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा दुई शव फेला परेको र खोजी अझै जारी रहेको उनले बताएका छन्।
चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनाको टोली भदौ १० गते नै पुगे पनि दलदलका कारण सुरुङ प्रवेशमा समस्या भएको थियो। भदौ १३ गते भारतीय विशेषज्ञसहित रेकी गरी भोलिपल्टदेखि खोजी सुरु गरिएको थियो।
दलदल पन्छाउँदै करिब ९० मिटरभित्र पुग्दा दुई शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। खोजीका लागि बबक्याट एक्साभेटर र आयोजना क्षेत्रमा उपलब्ध अर्को एक्साभेटर प्रयोग भइरहेको छ।
माथिल्लो त्रिशूली-१ बाट एक जनाको जीवित उद्धार
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना क्षेत्रमा भदौ १० गतेदेखि खोजी सुरु गरिएको थियो। भदौ १३ गते चिनियाँ विशेषज्ञ टोलीले रेकी गरेपछि नेपाली सेना र चिनियाँ टोलीले भदौ १४ गतेदेखि संयुक्त खोजी थालेका थिए।
दलदल पन्छाएर सुरुङभित्र २०० मिटरसम्म पुग्दा ताल फेला परेको र उक्त स्थानमा थर्मल ड्रोन प्रयोग गरेर खोजी गरिएको प्रधानमन्त्रीले बताएका छन्। त्यसपछि नेपाली सेना र कोरियाली विशेषज्ञ टोलीले खोजीलाई निरन्तरता दिएको थियो।
प्रधानमन्त्री शाहका अनुसार प्रारम्भिक खोजीमा एक शव फेला परेको थियो। भदौ २० गते थप एक जनाको जीवित उद्धार गरिएको र दुई शव फेला पारिएको थियो।
त्रिशूली-३ ‘ए’मा अत्याधुनिक उपकरणबाट खोजी
नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढी गएको पहिलो दिनदेखि खोजी थालिए पनि सुरुङको मुख पहिचान गर्न कठिन भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
नेपाल विद्युत् प्राधिकरण र नागढुङ्गा सुरुङ आयोजनाका विशेषज्ञले भदौ १२ गते रेकी गरेपछि भदौ १३ गतेदेखि काम सुरु भएको थियो। खोजी तीव्र बनाउन ६ वटा एक्साभेटर प्रयोग गरिएको थियो।
करिब २५ मिटर उत्खनन गरेपछि विद्युत्को तारका लागि प्रयोग हुने सुरुङ फेला परेको र उद्धार टोली त्यहीँबाट घस्रिएर भित्र प्रवेश गरेको प्रधानमन्त्री शाहले बताएका छन्।
सुरुङको मुख खोल्न काठमाडौँ-तराई-मधेश द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ तथा नागढुङ्गा सुरुङ आयोजनाबाट कम्प्रेसर ल्याइएको थियो। ड्रिलिङ मेसिनसहित ती सामग्री हेलिकोप्टरबाट आयोजना क्षेत्रमा पुर्याइएको उनले उल्लेख गरेका छन्।
भदौ १९ गते दुई जनाको जीवित उद्धार गर्नुका साथै एक शव फेला पारिएको थियो। त्यसपछि पनि थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेराबाट खोजी भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
त्रिशूली-३ ‘बी’को सुरुङमा भेटियो गाडी
त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि खोजीको प्रयास गरिएको थियो। भदौ १३ गते चिनियाँ टोलीले रेकी गरे पनि दलदलका कारण खोजी उपकरण लैजान समस्या भएको प्रधानमन्त्री शाहको भनाइ छ।
आयोजनाका कर्मचारी र नेपाली सेनाको टोली दलदल पन्छाउँदै अडिट सुरुङको प्रवेशविन्दुबाट १।७ किलोमिटरभित्र पुगेको थियो। खोजीका क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको उनले बताएका छन्।
आयोजनाका छवटा आवासीय र एउटा कार्यालय भवन बाढीले पुरिएका छन्। ती संरचना खोज्न १५ मिटर गहिराइसम्म उत्खनन गरिएको र थप उपकरण लैजाने क्रम जारी रहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले प्रभावित आयोजना क्षेत्रमा नेपाली सुरक्षाकर्मीसँगै भारत, चीन र कोरियाका विशेषज्ञ परिचालित रहेको उल्लेख गरेका छन्। सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउन जोखिमपूर्ण परिस्थितिमा पनि खोज तथा उद्धारलाई निरन्तरता दिइने उनको प्रतिबद्धता छ।






