काठमाडौँ । भोटेकोशी बाढीले अभिभावकविहीन बनेका रसुवाका १० जना छात्रको शैक्षिक दायित्व महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल)ले लिने भएको छ ।
आज मटिहानीमा बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा आयोजित शोक सभामा गुरुकुलका प्रधानाध्यापक ईश्वरी पौडेलले यस्तो घोषणा गरेका हुन् ।
“रसुवाको बाढीमा परेर कैयौँ अभिभावकविहीन हुन परेको छ, यो अवस्थामा अभिभावकविहीनको दायित्व समाज र राज्यले लिन पर्छ”, पौडेलले भने, “यो जिम्मेवारीलाई आत्मसात् गर्दै गुरुकुलले बाढीमा अभिभावक गुमाएका १० जना छात्रको शैक्षिक दायित्वको सम्पूर्ण जिम्मेवारीको घोषणा गर्दछ ।”
यसअनुसार कक्षा–८ देखि १२ सम्मको अध्ययनको दायित्व पूरा गरिने पौडेलले स्पष्ट पारे । यसअन्तर्गत आवास, भोजन र शैक्षिक सामग्रीसहितका सुविधा दिइने उनको भनाइ छ ।
अहिले गुरुकुलमा छात्रका लागि मात्र आवास दिन सकिने व्यवस्था रहेकाले यो अवसर छात्रहरूका लागि मात्र रहेको पौडेलले बताए । “छात्राहरू राख्न छात्रावास सुविधा हामीसँग अहिले छैन”, उनले भने, “यस्तो सुविधा बढाउन सक्यौँ भने पछिका अवसरमा छोरीलाई पनि सहभागी गराउनेछौँ ।” अहिले भने बाढीले अनाथ बनाएपछि पठनपाठन नरोकियोस् भन्ने हेतुले यो घोषणा गरिएको पौडेलको भनाइ छ ।
विसं १७७५ मा सेनवंशका राजाद्वारा स्थापित यो गुरुकुल मुलुककै जेठो विद्यालय मानिँदै आइएको पौडेलले जानकारी दिए । यो परिचयले शैक्षिक क्षेत्रका दायित्व निर्वाहमा अभिप्रेरित गर्ने गरेको उनले बताए ।
यो नयाँ कार्यक्रममा नामांकनका लागि शैक्षिक प्रमाण र सम्बद्ध वडा समिति कार्यालयबाट बाढीले अभिभावकविहीन बनेको किटानी सिफारिस भए पुग्ने गुरुकुलले जनाएको छ । माग सङ्ख्या १० भन्दा बढी इच्छुक भएमा त्यसमध्येबाट अति विपन्न छानिने गुरुकुलले स्पष्ट पारेको छ ।






