काठमाडौँ । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा रोकिएका छन् ।
पर्यटक बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपाने कृष्ण भीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउछन् । “राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालन हुन सकेका छैनन्, यसको प्रत्यक्ष मार पर्यटक र हामी व्यवसायीमा परेको छ”, अध्यक्ष न्यौपाने भन्छन् ।
चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला सवारीसाधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसायी तथा मजदुर मर्कामा परेका छन् । “पर्यटक बस ठूला छन्, सानो बाटोमा सञ्चालन गर्दा घुम्ती पुग्दैन, त्यसैले सञ्चालन गर्न पाएका छैनौ”, उनी भन्छन् । राजमार्ग अवरुद्ध भएर पर्यटक बसलगायतका सार्वजनिक सवारीसाधन आवागमनमा प्रभावित भइरहेका बेला हवाई यात्रुको चाप बढेको छ । कृष्ण भीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ आउने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । तर वर्षायाममा सडकको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन् ।
पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढेको छ । काठमाडौँबाट पोखराका लागि दैनिक छ उडान भर्दै आएको यती एयरलाइन्सले पृथ्वी राजमार्ग अवरुद्ध भएर यात्रुको चाप बढेसँगै दैनिक उडान सङ्ख्या थप गरेको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कृष्ण भीरको पहिरोका कारण बाटो अवरुद्ध हुँदा अधिकाशं यात्रुको रोजाई हवाइजहाज भएको बताउछन् । “भोटेकोशी बाढी अगाडिको तुलनामा त्यसपछिको दिनमा हवाइजहाजमार्फत काठमाडौँबाट पोखरा जाने यात्रुको सङ्ख्यामा ५० प्रतिशत बढेको छ”, प्रवक्ता बर्तौला भन्छन् ।
यती एयरलाइन्सले बाढी अगाडि दैनिक पोखरा छ उडान भर्दै आएकोमा त्यसपछि भने उडानको सङ्ख्या दैनिक १० बनाएको प्रवक्ता बर्तौला बताउछन्। बाढीपछि समग्र रूपमा हवाइको भाडा ४० प्रतिशत बढेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । हवाइजहाजमार्फत चितवनको भरतपुरबाट काठमाडौँ आउने तथा काठमाडौँबाट भरतपुर जाने यात्रुको सङ्ख्यासमेत बढेको छ । भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् ।
बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या दोब्बर बनाइएको छ । हाल काठमाडौँबाट भरतपुर दैनिक ९ देखि ११ उडान हुँदै आएका छन् । भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन् । बाढीले क्षति पुर्याएको कृष्ण भीर सडकखण्डमा भने नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ । मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटा दिनरात नभनी नयाँ ट्रयाक खन्ने काम भइरहेको बताउनुहुन्छ ।
“हामीले दिनरात नभनी नयाँ बाटो खोल्ने काम गरिरहेका छौँ, नयाँ बाटो चाँडै नै सञ्चालनमा ल्याउने तयारी छ”, उनी भन्छन् । उक्त राजमार्ग नखुल्दा यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । नियमित मार्ग सञ्चालनमा नआउँदा यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिम र थप सास्ती खेप्नुपरेको छ ।






