काठमाडौं । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार, टनेलभित्र खोजतलास, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वास्थ्य उपचारको कामलाई तीव्र बनाएको छ।
नेपाली सेनाले मंगलबार सार्वजनिक गरेको खोज तथा उद्धारसम्बन्धी पछिल्लो विवरणअनुसार भदौ २३ गते दिउँसो ३ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप २० जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म हवाई साधनमार्फत उद्धार गरिएकाको संख्या ४०४० पुगेको छ। तीमध्ये ३७५७ जना स्वदेशी र २८३ जना विदेशी छन्।
टनेलभित्र खोजी तीव्र, केबल टनेलमा एक शव फेला
रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम र आयोजनाका प्रतिनिधिसहितको टोली पावर हाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।
संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला पारेको छ।
लाङटाङ जलविद्युत आयोजनामा पनि संयुक्त उद्धार टोलीबाट खोज तथा उद्धार कार्य जारी छ।
चिलिमे हाइड्रोमा विदेशी टोलीसमेत सम्मिलित संयुक्त टोलीले चारवटा ६/६ मिटर लम्बाइका ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ। स्याफ्रुबेसीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म हेभी इक्विपमेन्ट लैजान सडकमा रहेको ठूलो ढुङ्गालाई ब्लास्टिङ गरी हटाइएको छ। मेजर रकसम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको सेनाले जनाएको छ।
त्यहाँ विन्च मेसिन र बकेटबाट डेब्रिस हटाउने काम भइरहेको छ भने संयुक्त टोली टनेलको ११५ मिटरसम्म प्रवेश गरी खोजी कार्यमा जुटेको छ।
माथिल्लो त्रिशूली–१ मा ४०० मिटरसम्म प्रवेश
माथिल्लो त्रिशूली–१ मा विदेशीसमेत सम्मिलित संयुक्त टोली मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ।
त्रिशूली–३ए को पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३४ जना, सशस्त्र प्रहरी बलका चार जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली खोजीमा परिचालित छ।
त्यस्तै, त्रिशूली–३बीमा नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर प्रयोग गरेर करिब २३ फिट गहिराइसम्म खनेर खोजी गरेको छ। आयोजनाको कार्यालय तथा आवास गृह क्षेत्रमा गरिएको उक्त खोजीमा हालसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
तादी नदीमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम तीव्र रूपमा गरिरहेको छ।
नेपाली सेनाका इन्जिनियरबाट ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि परामर्शसहित कामसमेत सुरु भएको छ।
प्रभावित क्षेत्रमा सेनाका ९ हजारभन्दा बढी फौज परिचालित
मैलुङदेखि स्याफ्रुबेसीसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य गरिरहेको छ।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट मंगलबार थप ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजारभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्।
ती फौजले अन्य निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेको नेपाली सेनाले जनाएको छ।









