काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रमप्रति आपत्ति जनाएकी छन्।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित कार्यक्रमले आन्दोलनका सहिद, घाइते तथा पीडित परिवारको भावनालाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ। उनले कार्यक्रमको स्वरूप, मञ्चको बनोट र धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि समेत प्रश्न उठाएकी छन्।
‘परिवारको पीडा कसरी सम्बोधन भयो ?’
धितालले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमले सहिद र घाइतेको सम्मानभन्दा उनीहरूको भावनामा चोट पुर्याएको अनुभूति भएको उल्लेख गरेकी छन्।
‘मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ । मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो । त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो रु त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन्,’ उनले लेखेकी छन्।
आन्दोलनका क्रममा घाइते भएकाहरूको भावना पनि कार्यक्रममा समेटिन नसकेको उनको भनाइ छ। यस्तो कार्यक्रमको शैलीमाथि नेतृत्वमा रहेका व्यक्तिहरूले समयमै हस्तक्षेप गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।
आन्दोलनको उद्देश्य र व्यवहारबीच विरोधाभास
धितालले जेनजी आन्दोलनका घोषित उद्देश्य र अहिले देखिएको व्यवहारबीच विरोधाभास देखिएको टिप्पणीसमेत गरेकी छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, निरंकुशताको विरोध र विधिको शासनका पक्षमा अघिल्लो वर्ष सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले आलोचना गर्नेहरूलाई धम्की र चेतावनी दिने प्रवृत्ति बढेको बताएकी छन्।
अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न
‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ?’ धितालले प्रश्न गरेकी छन्, ‘के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’
उनले आन्दोलनको मूल मर्म, सहिदको बलिदान, घाइतेको पीडा र नागरिक स्वतन्त्रताको विषयलाई स्मृति कार्यक्रम तथा त्यसपछिका गतिविधिको केन्द्रमा राखिनुपर्ने आशय व्यक्त गरेकी छन्।






