काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनको एक वर्ष पूरा भए पनि त्यसले स्थापित गरेको संकल्प, सहिद परिवारसँग गरिएको वाचा तथा घाइते र पीडितप्रतिको प्रतिबद्धता समाप्त नभएको बताएका छन्।
भदौ २३ का अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले न्याय, जबाफदेहिता, पारदर्शिता र सुशासनका पक्षमा उठेको आवाज आफूले नबिर्सिएको उल्लेख गरेका छन्।
‘एक वर्ष बित्यो, संकल्प बितेको छैन। सहिद परिवारसँगको वाचा बिर्सेको छैन। घाइते र पीडितहरूसँगको प्रतिबद्धता बिर्सेको छैन,’ उनले भनेका छन्, ‘न्याय, जबाफदेहिता, पारदर्शिता र सुशासनका लागि उठेको त्यो आवाज बिर्सेको छैन।’
‘भदौ २३ मिति मात्र होइन, नसुकेको घाउ हो’
गृहमन्त्री गुरुङले भदौ २३ क्यालेन्डरको एउटा मिति मात्र नभई एक वर्षपछि पनि सुक्न नसकेको घाउका रूपमा आफ्नो मनमा रहेको बताएका छन्।
एक वर्षअघिको आन्दोलन स्मरण गर्दै उनले ब्यागमा किताब, हातमा प्लेकार्ड र रातो–नीलो झन्डासहित विद्यालयको पोसाकमा सडकमा आएका विद्यार्थीको दृश्य आफूले बिर्सन नसकेको उल्लेख गरेका छन्।
‘देश हाम्रो हो’ भन्दै कुनै नेता र दलको झन्डाबिना आफ्नै विवेकले सडकमा उभिएका युवाहरूको आवाज काँपे पनि नझुकेको उनको भनाइ छ। सुशासनका पक्षमा आवाज उठाउँदै र पानीका बोतल बाँड्दै हिँडेका ती युवाका अनुहार आफ्नो स्मृतिमा अझै ताजा रहेको उनले बताएका छन्।
‘गोली चलेको आवाजले सिंगो देशलाई चिथोर्यो’
गुरुङले आन्दोलनका क्रममा गोली चलेको र बन्दुक पड्किएको आवाज आउन थालेको उल्लेख गर्दै त्यस दिनको स्मरणले अहिले पनि मन भक्कानिने बताएका छन्।
‘अस्पतालबाहिर आमाहरूको चित्कार, भाइको शव कुरेर बसेका दिदीहरू, “मेरो छोरो त पढ्न गएको थियो” भन्दै भुईँमा बसेका बुबाहरू,’ उनले लेखेका छन्, ‘त्यो दिन नेपालका धेरै घरका बत्ती सधैँका लागि निभे।’
उनले ती दुई दिनलाई देशका ‘काला दिन’को संज्ञा दिएका छन्। देशलाई उज्यालो बनाउने उद्देश्यसहित आफ्ना भाइबहिनी आफैँ जलेर सहिद बनेको उल्लेख गर्दै उनले आफ्नो आँसु अझै नथामिएको बताएका छन्।
परिवर्तन माग्ने पुस्ता भोलिपल्ट कुचो लिएर निस्किएको स्मरण
आन्दोलनपछि त्यही पुस्ता भोलिपल्ट सडक सफा गर्न कुचो लिएर निस्किएको दृश्यमा आफूले नेपालको भविष्य देखेको गृहमन्त्री गुरुङले उल्लेख गरेका छन्।
‘जसले परिवर्तन मागेको थियो, उसैले सफा गर्न थाल्यो। मैले त्यो दृश्यमा नेपालको भविष्य देखेँ,’ उनले भनेका छन्।
जेन जेड पुस्ताले आवाज उठाउन डराउन नहुने, सत्ता ठुलो नभई सत्य ठुलो हुने र परिवर्तनका लागि आफैँ बदलिन तयार भए देश बदलिन सक्ने सन्देश दिएको उनको भनाइ छ।
उनले आन्दोलन त्यसपछि आफ्ना लागि भावना मात्र नभई जिम्मेवारी बनेको बताएका छन्।
‘धेरै वाचा पूरा हुन बाँकी छन्’
गृहमन्त्री गुरुङले अपेक्षाअनुसार सबै काम छिटो हुन नसकेको स्वीकार गरेका छन्। अझै धेरै प्रश्नको जवाफ दिन, वाचा पूरा गर्न र आन्दोलनमा सन्तान गुमाएका आमाहरूको आँसु पुछ्न बाँकी रहेको उनले उल्लेख गरेका छन्।
वर्षमा एक दिन सहिदलाई सम्झिएर मात्रै राज्यको जिम्मेवारी पूरा नहुने बताउँदै उनले सहिदको सपना पूरा गर्नु नै साँचो श्रद्धाञ्जली हुने धारणा राखेका छन्।
‘उनीहरूले देख्न चाहेको नेपाल बनाउनु नै हाम्रो कर्तव्य हो,’ गुरुङले भनेका छन्, ‘तपाईँहरूको सपना हाम्रो जिम्मेवारी हो, तपाईँहरूको त्याग हाम्रो संकल्प हो।’
उनले जेन जेड आन्दोलनका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते, पीडित र उनीहरूका परिवारप्रति सम्मान, माया र प्रतिबद्धता व्यक्त गरेका छन्।






