काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका दलित तथा भूमिहीन परिवारको पीडामा समृद्धि ग्लोबल फाउन्डेसन नेपालले साथ दिएको छ । बाढीबाट प्रभावित कालिका गाउँपालिका–२ का ३१ परिवारलाई फाउन्डेसनले खाद्यान्नसहित आवश्यक राहत सामग्री वितरण गरेको हो ।
जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत सोमबार गरिएको राहत वितरणमा बाढी प्रभावित परिवारलाई चामल, दाल, लत्ताकपडा, भाँडाकुँडा, झोला, कम्बल तथा कापीकिताब उपलब्ध गराइएको थियो । त्यस्तै चाउचाउ, चिउरा, बिस्कुट र खानेपानीलगायत दैनिक उपभोगका सामग्रीसमेत वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।
राहत वितरण कार्यक्रम जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानी न्यौपाने तथा वडा अध्यक्ष उमेश बहादुर न्यौपाने।को रोहबरमा गरिएको हो । कार्यक्रममा बाढीबाट प्रभावित दलित तथा भूमिहीन परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक विवेक थापा मगरले जानकारी दिए ।
राहत बोकेर रसुवा पुगेको टोली
बाढी प्रभावित परिवारलाई राहत वितरण गर्न फाउन्डेसनका कार्यकारी निर्देशक थापा मगरसँगै अध्यक्ष एवं सञ्चालक दिनेश थापा, सञ्चालक भरत थापा, सोमराज गुरुङ, राजकुमार श्रेष्ठ लगायतको टोली कालिका गाउँपालिका-२, कालिकास्थान पुगेको थियो ।
बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपलब्ध गराएर विपद्को समयमा प्रभावित समुदायसँगै उभिने प्रयास गरिएको फाउन्डेसनले जनाएको छ ।
सामाजिक सेवामा सक्रिय हुने लक्ष्य
समृद्धि ग्लोबल फाउन्डेसन विपद् तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । फाउन्डेसनमा आबद्ध सदस्यहरूले विभिन्न निकाय तथा संघसंस्थामा रहेर लामो समयदेखि सामाजिक सेवामा योगदान दिँदै आएका छन् ।
यसै वर्ष दर्ता भएको फाउन्डेसनले आगामी दिनमा विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउनुका साथै शिक्षा, सामाजिक सेवा तथा अन्य आवश्यक क्षेत्रमा समेत आफ्नो गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
फाउन्डेसनले ‘विपद्मा परेका नागरिकलाई सकेको सहयोग गर्ने र आवश्यकतामा समुदायसँगै उभिने’ उद्देश्यसहित सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ







