काठमाडौँ । नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ।
मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा आवेदन बुझाउन सकिने मन्त्रालयले जनाएको छ।
महाप्रबन्धक पदका लागि आवेदन दिने उम्मेदवार दरखास्त दिने अन्तिम मितिसम्म कम्तीमा ३५ वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
त्यस्तै, मान्यता प्राप्त विश्वविद्यालयबाट नेपाल औषधि लिमिटेडको कार्यप्रकृतिसँग सम्बन्धित रसायनशास्त्र वा फार्मेसी विषयमा अथवा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारसँग कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारी रहेको पदमा न्यूनतम पाँच वर्षको कार्यअनुभवसमेत हुनुपर्नेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार नियुक्तिका लागि अयोग्य नभएको तथा अन्य प्रचलित कानूनबमोजिम पनि अयोग्य नरहेको व्यक्ति मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउने मन्त्रालयले जनाएको छ।
नेपाल औषधि लिमिटेडको नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट गर्ने प्रक्रियाअन्तर्गत मन्त्रालयले आवश्यक योग्यता र अनुभव पूरा गरेका इच्छुक नागरिकलाई निर्धारित अवधिभित्र आवेदन दिन आग्रह गरेको छ।












