काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सर्भिस टनेलमा खोज तथा उद्धार गरिरहेको नेपाल-भारत संयुक्त विशेषज्ञ टोली सुरुङको १०५ मिटरभित्रसम्म पुगेको छ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै सुरुङसम्म पुग्ने पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र पारेको हो।
सुरुङको प्रवेश विन्दुदेखि जमेको लेदो र दलदल हटाउँदै अघि बढेको टोलीले खोजीलाई निरन्तरता दिएको सेनाले जनाएको छ। यसअघि सुरुङभित्र प्रवेश गर्ने क्रममा दुई जनाको शव फेला परेको थियो।
बाढी आएकै दिन सेनाको टोली घटनास्थलमा
नेपाली सेनाको टोली भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर प्रारम्भिक अनुगमन तथा अवस्थाको मूल्यांकन गरेको थियो।
त्यसपछि टोलीले सुरुङको प्रवेश विन्दुमा थुप्रिएको लेदो र दलदल पन्छाउँदै भित्र प्रवेश गरी खोजी सुरु गरेको थियो। प्रारम्भिक खोजीका क्रममा सेनाले दुई जनाको शव फेला पारेको हो।
भदौ १४ देखि संयुक्त खोजी
भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा सुरुङभित्र खोज तथा उद्धार सुरु गरेको छ।
संयुक्त टोली विभिन्न अवरोध पन्छाउँदै सर्भिस टनेलको १०५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ। उक्त स्थानबाट थप भित्री भागतर्फ खोजी जारी राखिएको छ। सेनाले सार्वजनिक गरेको पछिल्लो विवरणमा पनि टोली १०५ मिटरभित्रसम्म पुगेर खोजी गरिरहेको उल्लेख छ।
उद्धार टोली र उपकरण सर्भिस टनेलसम्म पुर्याउन अवरुद्ध पहुँच सडक खुलाउने काम पनि समानान्तर रूपमा भइरहेको छ।
आयोजना क्षेत्रमा वारिपारि आवतजावत गर्न डोरी टाँगेर अस्थायी पहुँचको व्यवस्था गरिएको छ। बाढीले सडक तथा अन्य संरचनामा क्षति पुर्याएकाले खोज तथा उद्धारमा पहुँच नै प्रमुख चुनौती बनेको छ।
खोज तथा उद्धारलाई प्रभावकारी र द्रुत बनाउन बक्याट एस्काभेटरसहित आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटरसमेत परिचालन गरिएको छ।
उपकरणको सहायताले सुरुङ प्रवेश क्षेत्र र पहुँच मार्गमा थुप्रिएको दलदल तथा बाढीजन्य गेग्रान हटाउने र उत्खनन गर्ने काम निरन्तर भइरहेको छ।
सुरुङभित्र खोजी गरिरहेको विशेषज्ञ टोली र बाहिरबाट पहुँच मार्ग निर्माणमा खटिएको प्राविधिक टोलीबीच समन्वय गरी अभियान अघि बढाइएको सेनाले जनाएको छ।






