काठमाडौँ। प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुन:स्थापनासम्बन्धी कामको समीक्षा गरेका छन्।
नेपाली काँग्रेसको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद्पछिको सरकारी प्रतिकार्य, यसअघि भएको सर्वदलीय बैठकका निर्णय कार्यान्वयनको अवस्था तथा आगामी रणनीतिबारे छलफल भएको काँग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
बैठकमा सर्वदलीय बैठकबाट बाढी प्रभावित क्षेत्रका लागि तय गरिएका नौ बुँदे प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो। कार्यान्वयन हुन बाँकी विषय पहिचान गर्दै आगामी दिनमा ती निर्णयलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत छलफल भएको थापाले बताइन्।
भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार र राहतका काम गरिरहेको भए पनि अन्य सरोकारवाला पक्षसँग थप प्रभावकारी समन्वय र सहकार्य गर्न सकिने अवस्था रहेको विपक्षी दलहरूको निष्कर्ष छ।
थापाका अनुसार राहत वितरणको प्रारम्भिक चरणमा केही कमजोरी देखिएका थिए। वास्तविक प्रभावितले समयमै राहत प्राप्त गर्न नसकेको गुनासो आएको उल्लेख गर्दै उनले आगामी चरणमा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
विपक्षी दलहरूले विपद् व्यवस्थापन र प्रतिकार्यका विषयमा विशेष संसदीय समिति गठन गर्ने प्रक्रियाबारे पनि छलफल गरेका छन्। सत्तारुढ दलका नेताहरूबाट विशेष संसदीय समिति गठनको विषय उठिरहेका बेला त्यसलाई कसरी अघि बढाउने भन्नेबारे बैठकमा विचारविमर्श भएको थापाले बताइन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणको विषयले पनि प्रवेश पाएको थियो।
विपक्षी दलहरूले सरकारका सकारात्मक प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राहत तथा उद्धारपछि प्रभावितको पुन:स्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। राहत वितरणलाई व्यवस्थित बनाएर दीर्घकालीन पुन:स्थापनातर्फ सरकार केन्द्रित हुनुपर्ने उनीहरूको धारणा छ।






