काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले राज्यका प्रमुख संरचनाकै पुनर्निर्माण अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकले आफ्नो क्षेत्रको पुनर्निर्माणप्रति कसरी भरोसा गर्ने भन्ने प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका व्यापारिक तथा निजी संरचना तुलनात्मक रूपमा तीव्र गतिमा पुन:निर्माण गरिरहेको उल्लेख गरे। महाराजगन्ज र नक्साल हुँदै संसद् आउने क्रममा आफूले निजी क्षेत्रको पुन:उत्थान देख्ने गरेको भन्दै उनले त्यसबाट निजी क्षेत्रको क्षमता र तत्परता देखिएको बताए।
तर, सिंहदरबार प्रवेश गरेपछि भने आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचना अझै उस्तै अवस्थामा देखिने गरेको उनको भनाइ थियो। गृह मन्त्रालयलगायतका संरचनाको पुनर्निर्माणमा भएको ढिलाइप्रति उनले असन्तुष्टि व्यक्त गरे।
आचार्यले नयाँ संसद् भवनबाट बजेट अधिवेशन सञ्चालन हुने अपेक्षा गरिए पनि अझै अस्थायी संरचनाबाटै प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको उल्लेख गरे। उनका अनुसार राज्यको प्रशासनिक केन्द्र सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणमै गति देखिन नसक्नु गम्भीर विषय हो।
यही अवस्थालाई आधार बनाएर उनले बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई सरकारले पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढाउँछ भन्ने विश्वास दिलाउन चुनौती रहेको बताए।
उनले पुनर्निर्माणमा ढिलाइ हुनुका नीतिगत तथा व्यावहारिक कारण पहिचान गर्न सरकारलाई आग्रह गरे। पुनर्निर्माण प्रक्रियामा देखिएका कमजोरी पहिल्याएर कार्यान्वयनको गति बढाउनुपर्नेमा उनले जोड दिए।
आचार्यले निजी क्षेत्रको पुन:निर्माणमा देखिएको सक्रियता र सरकारी संरचनाको पुनर्निर्माणबीच देखिएको अन्तरले राज्यको पुनर्निर्माण व्यवस्थापनमाथि प्रश्न उठाएको संकेत गर्दै आगामी पुनर्निर्माणका कामलाई प्रभावकारी, तीव्र र परिणाममुखी बनाउनुपर्ने बताएका छन्।






