काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई ‘जेन जेड आन्दोलन’को मर्म अनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे ।
विधिको लागी आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताए । उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाए । उनले रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरे । साथै विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरे । उनले मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएको पनि आपत्ति जनाए । उनले छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरे ।
उनले स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।
नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरे । उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका यी तीनवटा विषय फरक देखिए पनि तिनको मूल प्रश्न एउटै रहेको उल्लेख गरे ।
उनले भने, ‘एउटा रेडक्रसको विषय, एउटा रोजगारीको विषय, अर्को स्वास्थ्य बीमाको तर धागो एउटै छ । रेडक्रसको प्रसंग संस्थाको स्वायत्तताको हो । रोजगारीको प्रश्नको कुरा भनेको निष्पक्ष प्रतिस्पर्धाको कुरो हो । दर्ता सहयोगीको प्रश्नलाई हेर्ने हो भने श्रमको समानताको हो । र यी तीनवटै प्रश्नको मूल प्रश्न एउटै हो, राज्य विधिबाट चल्छ कि पहुँचबाट भन्ने कुरा । संस्था नियमले चल्छ कि रुचिले । सरकार नागरिकको सेवामा छ कि सीमित स्वार्थको संरक्षणमा ।’
उनले सरकारका मन्त्रीहरूले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरूप्रति पनि असन्तुष्टि जनाए । गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले प्रतिपक्ष सिक्न तयार रहेको बताउनुभयो । तर विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त सिक्न तयार रहेको उनको भनाई छ ।
उनले भने, ‘हामी सिकाउन आएका हौँ भन्ने कुरा पनि सुनियो। हामी सिक्न तयार छौँ । हामी प्रतिपक्षी दल सधैँ सिक्न तयार छौँ । तर सिक्न संस्कार सिक्न चाहन्छौँ । विधि, प्रक्रिया, पद्धति सिक्न चाहन्छौँ । विधानसङ्गत कुरा सिक्न चाहन्छौँ । सहिष्णुता सिक्न चाहन्छौँ, सिद्धान्त सिक्न चाहन्छौँ । यो पूर्वाग्रही भएर भनेको होइन सभामुख महोदय । आलोचना र प्रश्न हामीले गर्नै पर्छ । तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम यी कुराहरू हामी अहंकार सिक्न आएका होइनौँ । विवादित धर्मगुरुहरूको सङ्गत हामी सिक्न आएका होइनौँ ।’
उनले प्रतिपक्षले सरकारको आलोचना र प्रश्न गर्न पाउने बताए । अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रमलाई स्वीकार गर्न नसकिने उनको भनाई छ ।






