काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले २०८२ फागुन २५ गते गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलामा चित्त नबुझेपछि आयोगले २०८३ भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।
मुद्दा नरहरिनाथ गाउँपालिका-७ स्थित ओगडेनी सिरुपाटादेखि उच्छव आडिखोलासम्मको सिँचाइ कुलो निर्माण योजनासँग सम्बन्धित छ। योजनामा वास्तविकभन्दा बढी काम भएको विवरण नापी किताबमा उल्लेख गरी बढी रकम भुक्तानी लिने-दिने कार्य भएको आयोगको आरोप छ।
आयोगले १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अन्तर्गतका कसुरमा सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो।
त्यसै गरी, आयोगले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा पनि सजायको मागदाबी गरेको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतको आंशिक सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गरिएको हो।






