काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहितका प्रतिवादीले सफाइ पाएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले विशेष अदालत, काठमाडौँबाट २०८२ माघ १४ गते भएको फैसलाप्रति चित्त नबुझेपछि आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
तेलीसहितका प्रतिवादीमाथि गलत लिखत तयार गरी/गराई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसुर कायम गरी कैद तथा जरिवानाको मागदाबी लिएको थियो।
सोही मागदाबीका आधारमा विशेष अदालतमा आरोप पत्र दायर गरिए पनि अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।






