काठमाडौँ । बाढी पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
रसुवामा उत्तरगया गाउँपालिका–४ स्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
नुवाकोटमा बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो। पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्ण भीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ–१० को ज्वालाखोला र शीतलबजार क्षेत्रमा भने सडक एकतर्फी सञ्चालनमा छ। चितवनको ज्वालाखोला क्षेत्रमा पनि सडक मर्मतका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
त्यस्तै, सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिका–२ स्थित घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
कालीकोटमा शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।







