ख्वप (भक्तपुर) । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिएका छन् ।
नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले हाल १६ जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी गराए ।
मुख्यमन्त्री थापामगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताए । बाढी पहिरोका कारण सात हजारभन्दा बढी मानिस प्रभावित भएको उनले उल्लेख गरे ।
यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ । उनका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको उनले बताए। उनका अनुसार अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ ।
प्रदेश विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।






