काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सिरहाको औरही गाउँपालिकामा भएको घटनालाई लिएर भ्रम फैलाउने प्रयास भएको बताएका छन्। सिरहामा आयोजित एक कार्यक्रममा सिर्जित परिस्थितिलाई लिएर बाहिरिएका मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत घटनाबारे स्पष्टीकरण दिएका हुन्।
मन्त्री पोखरेलका अनुसार कार्यक्रम चलिरहेका बेला दुई जना व्यक्तिले प्रवेश गरी होहल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिति प्रभावित हुने स्थिति बनेकाले आफू कार्यक्रमस्थल छाड्न बाध्य भएको उल्लेख गरेका छन्।
घटनाको सम्पूर्ण सन्दर्भलाई ओझेलमा पारी एक मिनेटभन्दा छोटो भिडियो क्लिप (कटिङ भिडियो) का आधारमा नियोजित रूपमा भ्रम फैलाउन खोजिएको उनको दाबी छ। पूरा विषयवस्तु र पृष्ठभूमि नबुझी छोटो भिडियोकै भरमा गलत धारणा बनाउनु वा भ्रामक प्रचारको पछि लाग्नु न्यायोचित नहुने मन्त्री पोखरेलले स्पष्ट पारेका छन्।







