काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरपालिकाले उपलब्ध गराएको रकममध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’मा राखिनेछ भने बाँकी १ करोड रुपैयाँ उपचारमा आवश्यक औजार तथा उपकरण खरिदमा खर्च गरिएको छ।
महानगरपालिकाले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट)सँग सम्झौता गर्दै लक्षित वर्गका जलनका बिरामीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था गरेको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी तथा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
महानगरका अनुसार ‘जलन उपचार कोष’मा राखिएको १ करोड रुपैयाँबाट लक्षित वर्गका बिरामीको उपचार खर्च व्यहोर्नेछ। चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलनका बिरामीको उपचारमै प्रयोग गरिने व्यवस्था गरिएको छ।
अति विपन्न, हिंसापीडित तथा बेवारिसे जलनका बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा निःशुल्क उपचार उपलब्ध हुनेछ। काठमाडौँ महानगरपालिका क्षेत्रका स्थायी बासिन्दा, कानुनबमोजिम बसाइसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि यो सेवा पाउनेछन्।
महानगरपालिकाका अनुसार उपचार खर्च प्रतिव्यक्ति अधिकतम २ लाख रुपैयाँसम्म कोषबाट व्यहोर्नेछ। तर अस्पतालको क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोज्ने बिरामीको खर्च भने कोषबाट व्यहोर्ने छैन।
महानगरपालिकाले उपलब्ध गराएको १ करोड रुपैयाँबाट एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५०० एमए क्षमताको डिजिटल एक्स-रे मेसिन खरिद गरिएको छ। कार्यवाहक प्रमुख डंगोलले ती उपकरण अस्पताललाई हस्तान्तरण गरेकी छन्।
डंगोलले आर्थिक अभावका कारण जलनका बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न कोष स्थापना गरिएको बताइन्। ‘भवितव्य परेपछि पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस्, अस्पताल पुर्याएपछि बिरामी छाडेर पैसा खोज्न जानुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले कोषको व्यवस्था गरेका हौँ,’ उनले भनिन्।
उनले आगलागी नियन्त्रणका क्रममा अग्रपंक्तिमा खटिने अग्निनियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा कर्मचारीलाई जलनबाट जोगिने उपायबारे क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन्।
महानगरपालिकाले उपलब्ध गराएको ५०० एमएको डिजिटल एक्स-रे मेसिनबाट दैनिक एक सय जनासम्मलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ।
महानगरपालिकाले यसअघि पनि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल र कान्ति बाल अस्पताललगायत स्वास्थ्य संस्थालाई आवश्यक पूर्वाधार तथा उपकरण उपलब्ध गराउँदै आएको जनाएको छ। नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महानगर अस्पताल स्थापनाको तयारीसमेत भइरहेको कार्यवाहक प्रमुख डंगोलले बताइन्।






