काठमाडौँ । हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुखशान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामवद्ध भएर पूजाआराधना गरिरहेका छन् । यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन् । देशका विभिन्न स्थानमा आएको बाढी तथा विपद्बाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ ।
पशुपति दर्शनका लागि आएकी सिर्जना गिरीले देशमा पछिल्लो समय भएका दु:खद् घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना गरेको बताइन् । उनले तीज महिलाहरूका लागि विशेष पर्व भएको र परम्परादेखि नै श्रीमान्को दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन रहेको बताइन् ।
त्यस्तै, मीरा लोहनीले यसपटक पशुपतिनाथको दर्शन सहज भएको बताइन् । विगतमा लामो समय लाइन बस्नुपर्ने भएपनि यसपालि सहज रूपमा दर्शन गर्न पाएको उनको भनाइ छ । उनले भनिन्, ‘पशुपतिनाथले हामी सबैको रक्षा गरून् । सबै दिदीबहिनीहरू निराहार व्रत बसेर भगवान्को दर्शन गर्न पाउँदा खुशी लागेको छ ।’
कृष्णा बस्यालले भने देशमा विपद्का कारण तीजको खुशी मनमा नरहेको बताइन्। बाढीपहिरोका कारण घरबार गुमाएका, आफन्त तथा छोराछोरी हराएका परिवारको पीडाले आफूहरूलाई समेत दुःखी बनाएको उनले बताइन्।
उनकाअनुसार विपद्का कारण यसपटक विगतको तुलनामा पशुपतिनाथमा भक्तजनको चाप पनि केही कम देखिएको छ । पशुपतिनाथ दर्शनका लागि आएकी अर्की एक भक्तजन निरु गिरीले तीज धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण पर्व भएकाले आधुनिकतासँगै आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताइन् । उनकाअनुसार अविवाहित महिलाले असल तथा सर्वगुण सम्पन्न जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमान् तथा परिवारको स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने परम्परा छ ।
विमला न्यौपानेले पनि श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आफू व्रत बसेर पशुपतिनाथ आएको बताइन्। उनले देशमा शान्ति कायम होस्, सबैको सुख, शान्ति र समृद्धि होस् तथा विपद्मा परेकाहरूको शीघ्र उद्धार होस् भन्ने कामना गरिन् ।
संगीता केसीले तीजमा रातो पहिरन, सिन्दूर, टीका र पोते लगाउने परम्परा रहेको बताउँदै यसपटक भने बाढीपीडितको पीडाका कारण विगतजस्तो रमाइलो वातावरण नरहेको बताइन् ।
उनले भनिन्, ‘पहिला धेरै रमाइलो हुन्थ्यो। यसपालि देशमा संकटजस्तो अवस्था भएकाले त्यति रमाइलो छैन। हामीले परम्परा र नियमलाई निरन्तरता दिएका छौँ, तर खुशी र उत्साह भने विगतजस्तो छैन ।’
अर्की भक्तजन कल्पना नेपाल भट्टराईले आफ्नो संस्कृतिलाई सधैँ जोगाउनुपर्ने बताइन् । आधुनिकतिर जति लागे पनि कला र संस्कृति, धरोहर, सम्पत्ति भएकाले जोगाइरहनुपर्ने बताइन् । यस वर्ष तीजमा पशुपतिनाथमा दर्शन गर्न सहज रहेको बताइन् ।
भक्तजनहरूले यसपटक तीजको व्रत तथा पूजाआराधनासँगै बाढी तथा विपद्बाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन् । देशका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्को पीडा कायम रहे पनि तीजको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै महिलाहरू बिहानैदेखि शिवालयमा पुगेर पूजाआराधना गरिरहेका छन् ।






