काठमाडौँ । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरी वेश्यागमनको प्रचारप्रसार गरेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका-३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६, बसपार्क बस्ने २४ वर्षीय सरोज तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार हुने प्रकृतिको भिडियो सार्वजनिक भएको सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले खोजतलास गरेको थियो।
खोजतलासका क्रममा हुलिया परिवर्तन गरी लुकीछिपी हिँडिरहेको अवस्थामा तामाङलाई भदौ २७ गते काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि वेश्यागमनको प्रचारप्रसार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।






