काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले स्वैच्छिक रूपमा तलब कट्टा गरी ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
आयोगका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिबाट प्रभावितको सहयोगका लागि उक्त रकम संकलन गरिएको हो।
आयोगका पदाधिकारीको १५ दिन, आयोगका सचिवको १० दिन तथा आयोग र मातहतका कार्यालयमा कार्यरत निजामती तथा प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीको १० दिन बराबरको तलब स्वैच्छिक रूपमा कट्टा गरिएको छ।
त्यस्तै, उपसचिव, शाखा अधिकृत तथा सो सरहका कर्मचारीको ७ दिन, राजपत्र अनंकित राष्ट्रसेवक कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलब कट्टा गरी कोषमा जम्मा गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएका हुन्।
भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आयोगका पदाधिकारी तथा कर्मचारीले आफ्नो तलबबाट स्वैच्छिक योगदान गरेका हुन्।






