काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सीआईबीले विभिन्न समयमा प्राप्त सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबार भइरहेको विषयमा सूक्ष्म अनुसन्धान तथा विश्लेषण गरेको थियो।
अनुसन्धानका क्रममा व्यक्तिगत तथा व्यावसायिक बैंक खाता प्रयोग गरी हालसम्म एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुन्डी कारोबार भएको पुष्टि हुन आएको ब्युरोले जनाएको छ।
सोही कारोबारमा संलग्न रहेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका-४ निवासी २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरिएको हो।
धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले भदौ ३० गते साँझ ५:२० बजे शहीदनगर नगरपालिका-४ बाट मुखियालाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका मुखियामाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको छ। उक्त कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत तीव्र रूपमा अघि बढाइएको सीआईबीले जनाएको छ।







