काठमाडौं । मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको विवरणअनुसार असारको तुलनामा साउनमा सञ्चिति १.२ प्रतिशतले बढेको हो।
२०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा असार मसान्तमा २५ अर्ब ३१ करोड रहेको सञ्चिति साउन मसान्तमा २.१ प्रतिशत बढेर २५ अर्ब ८४ करोड डलर पुगेको छ।
१८.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
चालु आर्थिक वर्षको पहिलो महिनामा भएको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, हालको सञ्चितिले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ। साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत छ।
राष्ट्र बैंकसँग ३५ खर्ब १८ अर्ब सञ्चिति
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग साउन मसान्तमा ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति थियो। एक महिनामा यस्तो सञ्चिति १.३ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि ०.९ प्रतिशतले बढेको छ। असार मसान्तमा चार खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको सञ्चिति साउन मसान्तमा चार खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
जीडीपीसँग सञ्चितिको अनुपात ५९.८ प्रतिशत
साउन मसान्तमा कुल गार्हस्थ्य उत्पादनसँग विदेशी विनिमय सञ्चितिको अनुपात ५९.८ प्रतिशत रहेको छ। कुल आयातसँग सञ्चितिको अनुपात १५७ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४४.५ प्रतिशत कायम भएको छ।
असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए।






