काठमाडौँ। सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलका दुई घरमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।
प्रहरीका अनुसार भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका पदार्थ बरामद गरिएको हो। बरामद पदार्थको अनुमानित तौल दुई हजार किलोग्राम अर्थात् २० क्विन्टल रहेको छ।
बरामद पदार्थ गाँजा भए–नभएको पुष्टि हुन बाँकी छ। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेको छ।
बरामद पदार्थको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा सम्भावित गन्तव्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






